जटिल शल्यक्रियामा जमेका डाक्टर दम्पति

जटिल शल्यक्रियामा जमेका डाक्टर दम्पति

शल्यक्रियाः ०१
डोटीको साजघाटकी ४३ वर्षीया उत्तरा बोगटीको पाठेघरको धनगढीमै जटील शल्यक्रिया भयो । पाठेघरमा आन्द्रा, अण्डाशय र पिसावथैली टाँसिएर समस्यामा रहेकी उनको धनगढी स्थित निसर्ग अस्पतालमा शल्यक्रिया भयो । धनगढीमै अप्रेसन भएपछि टाढा जानुपर्ने आवश्यकता नभएको र अत्यत्र जाने आउने पैसाको बचत भएको बोगटीले बताइन् । यो जटिल शल्यक्रियामा सहभागी थिए स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. मिराज आलम अन्सारी एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा लगायतको टिम ।

शल्यक्रियाः ०२
सुदुरपश्चिम प्रदेशमै पहिलो पटक दुरबिन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी सेवा धनगढीमा उपलब्ध छ । बिरेन्द्रनगर नगरपालिका, सुर्खेत घर भएकी ३१ वर्षकी प्रतिभा थापा (नाम परिवर्तित) को सो परिक्षण एवम् उपचार भयो । ३ वर्षदेखि बाँझोपनको समस्याबाट आजित भएकी उनी उपचारका लागि कोहलपुर, नेपालगन्ज पनि पुगेकी थिईन् । त्यहाँ हरेक पटक जाँदा औषधी मात्र दिने, विभिन्न जाँचहरु गर्दा समेत समस्या के हो भनेर पत्ता नलाग्ने र समाधान नभएपछि उनी धनगढी आएकी थिईन् ।

दुरबिन प्रविधिबाट गरिने हिस्टेरोस्कोपीबाट उनको दायाँ डिम्ब बाहिनी नलिको मुख बन्द भएको देखियो । दुरबिन प्रविधिकै माध्यमबाट बिना चिरफार (घाउ नबनाई) उनको बन्द भएको नलीको मुख खोलियो । यस किसिमको परिक्षण तथा उपचार प्रविधि बाझोपनको समस्या थाहा पाउन, डिम्ब बाहिनी नलीको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघर भित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरको मुख र प्वाल चिप्किएको हेर्न र खोल्न, पाठेघर सम्बन्धी समस्यामा बायोप्सी जाँचहरु गर्न र अन्य थुप्रै अवस्थामा समेत यो परिक्षण तथा उपचार पद्धति लाभदायी हुने गर्छ । उनको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्राधानाध्यापक डाक्टर नजमुस्सबा अन्सारी लगायतको टिम खटिएको थियो ।

शल्यक्रियाः ०३
कैलालीको धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा एक महिलाको पेटबाट ६ किलोको मासुको डल्लो निकालियो । कैलालीको भजनी नगरपालिका ६ की २९ बर्षीया रत्ना चौधरीको पेटबाट मासुको डल्लो निकालिएको हो । गाउँघरमा झारफुकबाट ठिक नभएपछि कोहलपुर गएर एमआरआई गरेपछि मात्रै पेटमा मासुको डल्लो भएको थाहा भएको थियो ।

मासुको डल्लोले पाठेघरलाई च्यापिसकेको रहेछ । डाक्टरले मासुको डल्लो निकाल्दा बच्चादानी पनि निकाल्नु पर्ने हुन सुझाव दिए । सुरुमा पेट बढदै गएपछि अनेक औषधि र झारफुकमा लागे पनि चौधरीको पेट झन ठूलो हुँदै गएको थियो । स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारी एनेस्थेसियोलोजिष्ट डाक्टर हेमन्त ओझा लगायतको टिमले रानाको सफल सल्यक्रिया गर्यो ।

माथि उल्लेख गरिएका शल्यक्रिया गर्ने स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारी पेशाले डाक्टर भएपनि नाताले श्रीमान श्रीमति हुन् । उनीहरु पछिल्लो केही बर्षदेखि धनगढीमा सफल शल्यक्रिया गर्ने दम्पतिको रुपमा स्थापित भईरहेका छन् । एमडी गरेको दम्पतिले धनगढीमै जटिल शल्यक्रिया गरिरहेका छन् । सुदुरपश्चिमका मात्रै नभएर नेपालगंजसम्म पनि गर्न सकिदैन भनेर फर्काईएकाहरुको उनीहरुले अप्रेशनहरु गर्दै आएका छन् । उनीहरुको आँटले अकालमै ज्यान गुमाउनबाट धेरै जना बँचिरहेका छन् भने सस्तोमा बिना झन्झट स्वास्थ्य सेवा पाईरहेका छन् ।

स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी नेपालगंजमा हुर्केकी, पढेकी, काम गरेकी र चिकित्सकहरुलाई पढाउथिईन् भने धनगढीका बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारी उच्च शिक्षा काठमाण्डौंमा पढेर कोहलपुरमा कामकाज गर्दै डाक्टरहरुलाई पढाउँदै आएका थिए । दुबै जना वैवाहिक जीवनमा बाँधिएपछि कार्यरत क्षेत्रलाई धनगढी बनाईरहेका छन् भने जटिल र गम्भीर अवस्थाका विरामीहरुको उपचारमा आफ्नो क्षमता देखाईरहेका छन् । मुस्लिम समुदायका दुवै जनाको पुख्र्यौली पेशा व्यापार हो । तर उनीहरु आफ्नो पहिचान र काम फेरेर विरामीहरुलाई सेवा दिईरहेका छन् ।

बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारी सेती प्रादेशिक अस्पतालमा कार्यरत रहेका छन भने स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी निसर्ग हस्पिटल र सिटी पोलि क्लिनिकमा कार्यरत छिन् । यसअघि उनी पनि सेतीमै थिईन् तर वाध्यता र पारिवारिक कारणले निजि अस्पतालमा कार्यरत रहेकी छिन् ।

धनगढीमा मात्रै पछिल्लो एक बर्षमा डाक्टर मिराज आलम अन्सारीले ६ हजारभन्दा वढी शल्यक्रिया गरिसकेका छन् । सेतीमा हप्तामा दुई दिन शल्यक्रिया हुन्छ । त्यो दिनमा १७, १८ वटा अप्रेशन उनी लगायतको टीमले गर्दै आएको छ । हाईड्रोसिल, हर्निया, एपेन्डिस, आन्द्रामा प्वाल परेको, आन्द्रा फुटेको लगायतका धेरै शल्यक्रिया गरिरहेका छन् उनी । अब जटिल शल्यक्रियाको लागि अन्त जानुपर्ने अवस्थाको अन्त्य भएको र धनगढीमै हुने उनको दावी छ । धनगढी मेडिकल हबको रुपमा विकास हुदैं गएकोमा खुशी छन् उनी । यसले विरामीहरुलाई राहत भएको मान्छन् ।

बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारीसँगै महिलासँग सम्बन्धी जटिल शल्यक्रियामा सक्रिय छिन् स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी । मुस्लिम समुदायका महिलाहरुले मुखमा बुर्का लगाएर हिड्नुपर्ने स्थिति रहँदा उनी भने सेतो कोट लगाएर विरामीहरुको उपचारमा सक्रिय छिन् । उनी बाँकेबाट एमबीबीएस गर्ने मुसलमान समुदायकी पहिलो महिला हुन् । डाक्टर मेराजसँग विवाह भएपछि पछिल्ला बर्षमा उनी धनगढीमा जटिल र कठिन शल्यक्रिया गर्दै महिलाहरुलाई नयाँ जीवन दिईरहेकी छिन् ।

कक्षा ९ पढ्दादेखि विज्ञानमा रूचि राख्न थालेकी नजमुले नेपालगञ्जको मोर्डन पब्लिक माविबाट २०५३ मा एसएलसी उत्तीर्ण गरेपछि महेन्द्र उच्च माविबाट विज्ञानमा प्लस टु सकिन् । उनले २०६१ मा एमबीबीएस सकिन । त्यहीं काम गर्दै उनले २०६८ मा एमडी पूरा गरिन् । उनलाई पढाउने गुरुमा धवल समशेर पनि एक हुन् । जो अहिले नेपालगंज उपमहानगरपालिकाको मेयर छन् । आफूले पढेकै नेपालगंज मेडिकल कलेजमा काम र पढाई अगाडी बढाई रहिन । मेडिकल कलेजमा उनले आफुले धेरै काम गर्नु पर्दैनथ्यो । डाक्टरी पास भएर अभ्यास गरिरहेकाहरुले उनलाई सघाउथे । जटिल र क्रिटिकल केसहरुमा मात्रै उनले हात हाल्थिन् । नेपालगंजबाट धनगढी आएपछि भने उनी सबै काम आफैं गरिरहेकी छिन् । सुरुमा सेतीमा कार्यरत उनी अहिले धनगढीको निसर्ग अस्पताल र सिटी पोलिक्लिनिकमा कार्यरत रहेकी छिन् । उनकोमा उपचारका लागि आउने ९० प्रतिशतभन्दा वढी विरामीहरु जटिल प्रकृतिकै छन् ।

कतिपय विरामीहरु मेडिकल कलेजमा उपचार गरिएकाहरु छन् । नयाँ विरामीहरुको संख्या निकै न्युन छ । काठमाण्डौं, नेपालगंज रेफर गरिएका केसहरु उनको पुग्छन् । धनगढीका अन्य स्त्रीरोग विशेषज्ञहरुले आफुले गर्न नसक्ने केसहरु अन्तै रेफर गर्छन् । तर उनको पठाउँदैनन् । उनी भने आफु ती केसहरु गर्न सक्षम भएको बताउँछिन् । ती रेफर गरिएका कतिपय केसहरु भने उनको बारेमा बुझेर पनि आउने गरेका छन् ।

सुदुरपश्चिमका महिलाहरुमा गाईनोसँग सम्बन्धी धेरै समस्या देखेकीछिन् उनले । बच्चादानीमा खराबी, पिप जमेको, सुत्केरीहरुमा रक्तश्राव भएको जस्ता धेरै समस्या भएका महिलाहरु उनको पुग्छन् । पुरुष स्त्रीरोग विशेषज्ञसँग खुलेर भन्न नसकेका समस्याहरु पनि महिला भएको हिसाबलेभन्दा उपचारमा सहजता हुने उनको अनुभव छ । उनले जटिल प्रकृतिका जति केसहरुमा हात हालेकी छिन् अहिलेसम्म एउटा केसमा पनि असफल भएकी छैनन् । उनी धनगढी आएपछि हिस्टस्कोपी, पाठेघर र योनीको दुरविन विधिबाट धनगढीमै उपचार भईरहेको छ । जबकी यो सुविधा नेपालगंजमा समेत छैन् ।

स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारी वैवाहिक जीवनमा बाँधिएपछि धनगढीमा सँगै बसेर आफ्नो सेक्टरको स्वास्थ्य सेवा दिईरहेका छन् । डाक्टरहरुमाथि हातपात हुने जस्ता घटनाहरु हुने गरेका छन् । तर यो दम्पतिले अहिलेसम्म त्यस्ता घटनाहरुको सामना गर्नु परेको छैन् । उनीहरुले हात हालेका जटिल केसहरुको पनि सफल शल्यक्रिया गर्न सकेकै कारण उनीहरुले यस्ता घटनाको शिकार हुनु नपरेको हो ।

उनीहरुकै भनाईमा कुनै पनि डाक्टरले लापरवाही गर्न खोज्दैन् । आफ्नो क्षमताले भ्याएसम्म विरामीलाई बचाउने प्रयासमै हुन्छन् । डाक्टरमाथि हुने यस्ता घटनाहरुलाई रोक्नुपर्छ भन्छन् अन्सारी दम्पति । डाक्टरहरुले गलत गरेको भए त्यसको छानविन हुनुपर्ने, दोषी भए कारवाही पनि हुनुपर्ने पक्षमा छन् उनीहरु तर विना कारण आक्रमण गर्ने कार्यलाई निन्दनीय नै भन्छन् ।

डाक्टर अन्सारी दम्पतिका दुई छोरी र एक छोरा छन् । १० बर्षको छोरी, सात बर्षको छोरी र पाँच बर्षको छोरा छन् । पारिवारिक जीवनसँगै स्वास्थ्य क्षेत्रको व्यवसायिक जीवनलाई पनि अघि बढाईरहेका छन् उनीहरु । त्यो पनि निकै सफल र व्यवस्थित रुपमा । डाक्टर अन्सारी दम्पतिलाई आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *