धनगढीः धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले बहिरा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयका विद्यार्थीको महिनामा २ पटक विद्यालयमै पुगेर स्वास्थ्य परीक्षण गर्ने अस्पतालले जनाएको हो ।
बहिरा विद्यार्थीलाई अस्पतालले चिकित्सक शुल्क नलिने, शल्यक्रियामा सहुलियत तथा सामान्य औषधि पनि निःशुल्क दिने अस्पतालका अध्यक्ष तिर्थराज पन्तले बताए । विद्यालयले विगत लामो समयदेखि विभिन्न समस्याको सामना गर्दै आएको छ । १२५ जना छात्रछात्रा रहेको सो विद्यालयमा कक्षा ६ सम्म पढाइ हुने गरेको छ ।
२०७२ सालबाट सञ्चालनमा आएको सो विद्यालयका लागि नेपाल सरकारले वार्षिक ४० हजार रुपैयाँ मात्रै उपलब्ध गराउँदै आएको भएपनि उक्त विद्यालयमा प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा जिल्लाका फरक क्षमता (बहिरा) भएका विद्यार्थी अध्ययनरत रहेका छन ।